- ‘उपस्थित सम्पूर्ण कार्यकर्ताहरु, देशभरि टेलिभिजन हेरिहनुभएका हजारौं लाखौं साथीहरु, विदेशमा बसेर पनि हेरिराख्नुभएका पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरुलाई विश्वास लागेन, मैले गीता ल्याछु (उनले हातमा गीता लिइरहँदा बेस्सरी ताली बजिरहन्छ)। यो गीता हातमा राखेर हामी हिन्दू राष्ट्र चाहने सनातन धर्मका पक्षधरहरु, यो गीतालाई हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन।’
२०७६ फागुन २८ गते खाएको गीता कसम कमल थापाले २०७८ माघ २५ मा तोडेका छन्। २०७८ मंसिरमा भएको महाधिनवेशनमा अप्रत्यासित रुपमा हार बेहोरेपछि उनले पार्टी फोड्छन् भन्ने आम अनुमानलाई सत्य सावित गर्दै र गीता कसमलाई झुठो सावित गर्दै राप्रपा परित्यागको घोषणा गरेका छन्। उनले राप्रपा फोड्छु भनेका छैनन् तर राजनीति छाड्छु पनि भनेका छैनन्। त्यसकारण उनको गीता कसम यो घोषणाबाट स्वतः तोडिएको छ। कुनै तर्कको टालोले तोडिएको यो गीता कसम जोडिने छैन। सार्वजनिक रुपमा कसैले गीता कसम तोडेको सम्भवत: यो दुर्लभ घटना हो।
हिन्दू धर्मको नाममा राजनीति गर्ने नेताको यो हदको ‘राजनीति’ले गीताप्रेमीलाई कत्तिको छोएको छ कुन्नि? गीता कसम तोडे के हुन्छ भनेर अनलाइनमा समाचारसमेत आइसकेको छ। त्यो समाचारले कमल थापालाई पक्कै छोएको छैन। उनी गीतावादी कहिले थिए र गीता कसम तोडे के हुन्छ भनेर पीर मान्नु? मासु पसल खोल्ने मान्छे शाकाहारी हुन सक्दैन र? हिन्दू धर्मको नाममा राजनीति गर्नेले गीतालाई आदर्श मान्नु जरुरी हुँदो रहेनछ। नपत्याए कमल थापालाई सोध्नु। उनले त भावगत गीतालाई तासको पत्तालाई जति पनि इज्जत गरेनन्।
कमल थापाले सार्वजनिक रुपमा गीता कसम खाए पनि कामचाहिँ उहिल्यैदेखि मुसाले जस्तो गर्दै आएका छन्। उनकै नेता, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दिएको उपमा हो यो। राजनीतिमा मुसा पवृत्ति २०५२ सालबाटै देखाएका थिए थापाले। २०५२ चैतमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा उनी मन्त्री थिए। एमालेले अविश्वास प्रस्ताव ल्याएपछि मन्त्री पदबाट राजीनामा गरेर अविश्वास प्रस्तावको पक्षमा उभिएका थिए उनी। अविश्वास प्रस्ताव पास नहुने अवस्था नदेखेपछि फेरि सरकारकै पक्षमा भोट हालेका थिए। उनको राजनीति त्यही दिन राजीनामा दिनयोग्य थियो। अस्थिर संसदीय राजनीतिको फाइदा उठाउँदै उनी एकपछि अर्कोपटक मन्त्री बनिरहे। मुसा बनेर आफू बसेको मन्त्रीमण्डलमा प्वाल पार्दै यताउता कुदिरहे।
कमल थापाले संसदीय राजनीतिमा अनेक कीर्तिमान बनाएका छन्। मन्त्री बनेरै संसद्मा सरकारको विरुद्धमा नारा लगाएका छन्। मन्त्री भएरै लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको विपक्षमा भोट हालेका छन्। त्यही प्रवृत्तिलाई व्यंग्य गर्दै चन्दले संसद्मा भनेका थिए- ‘यदि मुसा पानीजहाजमा पसे भने त्यही जहाज प्वाल पार्न थाल्छन्। त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम तिनीहरु जहाज छोडेर अर्कोमा हाम्फाल्छन्। अर्को जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छन्। यिनै मुसा बोक्न रहर गर्ने जहाजवालाहरु मेरो जहाज डुबेकोमा खुसी नहुनुहोस्। यी मुसालाई जहाजमा चढाएपछि कुनै दिन तपाईंहरुको जहाज पनि डुबाइदिने छन्।’
सत्ता राजनीतिको स्वार्थमा फसेर एकपछि अर्को जहाज (सरकार) डुबाउँदा डुबाउँदै उनले राजसंस्था नै डुबाइदिए। कमल थापाको भर मानेर राज्य थामिने दिवास्वप्न देख्ने राजा डुब्नु नै थियो, डुबिगए। राम्रै भयो। कमल थापाले नेपाली जनतामाथि लगाइदिएको सबैभन्दा ठूलो गुण थियो त्यो। असाध्यै सजिलोसँग राजसंस्था फालिने भर्याङ कमल थापाले नै हालिदिएका थिए। राजाको गृहमन्त्री छँदा उनले संसद्वादी दलहरुलाई छ्याप्नुसम्म हिलो छ्यापे। आमनागरिकप्रति अत्यन्त कठोर सुनिए। साँच्चैको कर्फ्यु लगाउँछु भन्दै बारम्बार धम्की दिए। मतदाताभन्दा उम्मेदवार कम हुने खालको स्थानीय चुनाव गराए पनि निकै बहादुरी गरेझैं गरे। एकपछि अर्को अराजक काम गरेर राजाको चरम अहंकारमा तत्कालीन गृहमन्त्री थापाले बेस्सरी पेट्रोल छर्किदिए। जनआन्दोलनको रापतापमा राजाको अहंकार एकै छिनमा खरानी भयो।
राजसंस्था डुबेसँगै कमल थापा कट्टर राजावादी र हिन्दूवादी देखिए। उनको यो अवतारलाई गाई चिन्हले थप मलजल गर्यो। संविधानसभाको पहिलो चुनावमा नराम्ररी हारेको राप्रपाले दोस्रो चुनावमा समानुपातिकतर्फ थुप्रै भोट बटुल्यो। २५ सिट जित्न सफल भयो। त्यसपछि त उनी जितेको जित्यै भए। तीन टुक्रा राप्रपालाई एउटै बनाएपछि जोशिएका उनले गीता कसम खाए। त्यो कसम अब बेकामे बन्यो। अब उनीसँग राजनीति गर्न न राजसंस्थाको हाँगो छ न हिन्दूधर्मको ठुटो। मुसा पवृत्तिबाहेक उनीसँग केही पुँजी छैन।
अन्त्यमा कमल थापालाई मेरो अनुरोध। कमल थापाजी, तपाईं नेपाली राजनीतिको एक विर्सनलायक पात्र हो। तपाईंसँग कुनै व्यक्तिगत आग्रह पूर्वाग्रह राखेर भनेको होइन। तपाईंको राजनीतिक यात्रामा अवसरवादबाहेक अरु कुनै वाद छैन। अवसरवादको घोडा चढेर तपाईं पटकपटक मन्त्री हुनुभो। उपप्रधानमन्त्री हुनुभो। जुन व्यवस्थामा पनि फिट हुनुभो। राप्रपाको अध्यक्ष हुनुभो। मतदाताले हराइदिँदा पराजय स्वीकार्नु भएन। मतदाताको स्वविवेकलाई निर्मलनिवासको आशीर्वाद भन्दै हिलो छ्याप्नुभो। हारे पनि मै अध्यक्ष भनेझैं गर्नुभो। निर्वाचित अध्यक्षलाई एकाधपटक पत्र फालेर धम्क्याउनुभो। धैरै धैर्य नै नगरी फुत्त पार्टी छोडेर हिँड्नुभो। ठीक गर्नुभो। ठीक मात्र किन, तपाईंले महाठीक निर्णय गर्ने मौका पाउनुभएको छ।
एक बारको जिन्दगीमा अवसरवादको बर्को ओढेर कहिलेसम्म राजनीति गरिरहने? कहिलेसम्म त्यही मन्त्री, उपप्रधानमन्त्री र पार्टी अध्यक्ष पदको वरिपरि घुमिरहने? शक्ति र पैसा कति कमाइरहने? तपाईंले २० जना नेता बराबरको अवसर पाइसक्नुभो। कति खाइरहने? कति धाइरहने? राप्रपाबाट मात्र किन, राजनीतिबाटै राजीनामा दिनुस् न है। तपाईंले राजनीतिबाट राजीनामा दिनुभो भने यो देशको धमिलिएको राजनीति थोरै भने पनि सङ्लिन पाउँछ। तपाईं र तपाईंजस्तै कैयन् नेता सबै पार्टीमा छन्। कांग्रेस, एमाले, माओवादी, सबैमा। देशको स्वास्थ्यका लागि तपाईंको पुस्ताका अधिकांश नेताको राजनीति असाध्यै हानिकारक छ। तपाईं बिर्सनलायक राजनीति गरिरहनुभएको छ। राजनीतिबाट सन्यास लिए त्यो ठूलो गुण हुनेछ।
तपाईंलाई खान लाउनको कुनै समस्या छैन। कहिलेकाहीँ समाचारमा आउनको पनि समस्या छैन। राजनीतिबाहेक टेनिस खेल्न पनि सिपालु हुनुहुँदो रहेछ। टिकटक बनाउन, ट्वीटर चलाउन पनि जान्नुहुँदो रहेछ। किताब लेख्न पनि जान्नुहुँदो रहेछ। आफ्ना पिताको कीर्तिमानको बारेमा मोटै किताब लेख्नुभएको रहेछ। यस्तै यस्तै काममा भुले भएन भन्या? राजनीतिबाहेक अन्ततिर लागिदिए देशले श्वास फेर्न पाउँथ्यो कि? त्यसो गरे कसो होला?
लेखका केही प्याराग्राफमा कुरा काटेझैं उनी लेखें। तल चिठी लेखेकैजस्तो तपाईं लेखें। तपाईंलाई मेरो अन्तिम प्रश्न, कतिपटक कतिवटा व्यवस्थामा फिट हुने तपाईं? एउटै मान्छे प्रचण्डदेखि ज्ञानेन्द्रसम्म सबैको व्यवस्थामा कसरी फिट हुनसक्छ? जवाफ सजिलो छ। मुसा भएपछि जता पनि पस्न र प्वाल पार्न सक्छ। तपाईंको पारा त्यही भएन र? भागवत गीता छोएर कसम तोडेपछि अब के को दोकान थाप्ने थापाजी? विचारभन्दा माथि देश भन्ने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।