काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीको ड्राफ्टको लिलामी सकिएको छ।
आइतबार सम्पन्न पीएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनै पनि फ्रेन्चाइज टोली अनुबन्ध गर्न देखिएनन्।
सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए। प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए। तर, उनी दुवै श्रेणीमा बिकेनन्। सन्दीप लगातार तेस्रो पटक पीएसएलमा नबिकेका हुन्।
यता, विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका थिए। गोल्डमा नबिकेमा सिल्भरमा आफ्नो नाम राखेका थिए। तर, उनी दुवै श्रेणीमा बिकेनन्।
सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब थिए। उनीहरु पनि बिक्न सकेनन्।
गतवर्ष सिल्भर विदेशी कोटामा पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आशिफ शेख पनि बिकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।