फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले आफ्नो समूहको विजयपछि कांग्रेसलाई बलियो र व्यवस्थित बनाउने बताएका छन्। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो समूहलाई मत दिएर पार्टीको सेवा गर्ने अवसर दिन आग्रह गरे।
सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले भने,‘नेपालको सबैभन्दा बलियो, शक्तिशाली, संगठित, जनमुखी पार्टी र सबैभन्दा व्यवस्थित पार्टी पनि, मिनेन्द्र रिजाल र म महामन्त्रीको उम्मेदवार भएका छौं।'
पार्टीभित्र निर्वाचनको बेला समूह बन्ने र सभापति निर्वाचित भएपछि पनि समूहको नेता हुन नछाड्ने प्रवृत्ति रहेको भन्दै थापाले शेखरले त्यसो नगर्ने बताए। ‘शेखर कोइराला साथी हो। कमरेड हो। उहाँ सँगसँगै निर्वाचन लड्दै छौं। भोलि निर्वाचनमा कोही जितौंला र कोही हारौंला थाहा छैन। हामीलाई विश्वास छ, शेखर कोइराला निर्वाचित हुनुहुन्छ। सबै साथीहरुलाई धन्यवाद दिनुहुन्छ र त्यसपछि उहाँ कुनै गुटको नेता होइन। सिङ्गो कांग्रेसको सभापति बन्नुहुन्छ,’ उनले भने।
उनले कांग्रेसले निर्वाचन एक्लै लड्ने र जित्ने हो भने अहिले भएको मतदातामा करिब-करिब १०-१२ लाख नयाँ मतदाता थप्नुपर्ने बताए। ‘त्यसैले कांग्रेसको एउटा यस्तो नेता चाहियो। यस्तो नेतृत्व चाहियो। जसलाई कांग्रेसको नेता यो हो है, नेतृत्व यो हो है भनेर हेर्दैगर्दा क्रियाशील सदस्यभन्दा बाहिरका मतदातालाई कांग्रेससँग जोड्नु छ,’ उनले भने, ‘त्यसले कांग्रेस हेर्दै गर्दा, हाम्रो नेतृत्व हेर्दाखेरी कांग्रेसमा आऊँ-आऊँ लागोस्। कांग्रेसको घरभित्र पसौं-पसौं लागोस्। उज्यालो देखियोस्, सफा देखियोस्, पवित्र देखियोस्। शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ। हामीभन्दा धेरै नौजवान साथीहरुलाई कांग्रेससँग जोड्न सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।