काठमाडौं- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका देउवालाई सिटौलाले समर्थन गरेका छन्।
‘उहाँले यस पाँच वर्षमा उहाँले पार्टीलाई बचाएर सर्वसम्मतिका साथ पार्टीलाई हिँडाउन सफल हुनुभयो। आगामी दिनमा अझ बढी सफल हुनुहुन्छ भनेर मैले उहाँलाई साथ दिएको हो,’ सिटौलाले भने।
आइतबार देउवासहितको कार्यक्रममा सम्बोधन गर्दै सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई किन निरन्तरता नदिने? के बिग्रेको छ? भन्ने प्रश्न गरे। ‘आखिर हामीले दुई कार्यकाल निरन्तर प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकै छौं। उहाँलाई नै निरन्तरता दिनुपर्छ। कांग्रेसको लागि यो बाध्यात्मक अवस्था हो,’ उनले भने।
सिटौलाले आफू सडकमा बसेर पनि देउवालाई समर्थन गर्छु भनेको बताए। ‘मैले कुनै पदमा उम्मेदवारी दिएको छैन,’ उनले भने, ‘शेरबहादुर देउवादेखि प्रदीप पौडेलसम्म परिपक्व नेतादेखि युवा नेतासम्म छन्। हामीले सबैले यो प्यानललाई जिताउन विश्वासको मत प्रयोग गर्नुपर्छ।'
सिटौलाले सभापतिमा हारेको व्यक्तिलाई प्रधानमन्त्रीमा बोकेर आफूहरु निर्वाचनमा कसरी जाने भन्दै प्रश्न गरे। उनले आफूले देउवा र उनीनजिक बस्ने मान्छेको स्वार्थको कुरा नगरेको भन्दै एउटा उत्साही र जितेको प्रधानमन्त्री लिएर हामी निर्वाचनमा जानुपर्ने बताए।
‘प्रधानमन्त्रीमा रहने र उसलाई सभापतिमा हराउने, त्यो कस्तो निर्वाचन हुन्छ? उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ निर्वाचनमा। आफैंले सभापतिमा हराएको प्रधानमन्त्रीको नेतृत्वमा कस्तो निर्वाचन गराउने? प्रधानमन्त्री उहाँ नै बन्नुहोला। संसदीय दलको बहुमत उहाँसँगै होला। तर ठ्याक्कै निर्वाचनको मुखमा सभापतिमा हराएर निर्वाचनमा जाऊ भन्दा कसरी दह्रो खुट्टा टेकेर हिँड्न सक्नुहोला?,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।