काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी महाधिवेशनबाट आफू पुन: सभापतिमा निर्वाचित भए तीन तहमै सरकार बनाउने गरी कांग्रेसलाई जिताउने दाबी गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनाउने गरी निर्वाचन जिताउन लाग्ने दाबी गरेका हुन्।
उनले यो शेरबहादुरको मात्र कुरा नभएर प्रजातन्त्र र पार्टी बचाउने कुरा भएको बताए। बलियो पार्टी बनाउन जरुरी भएकाले आफूले पुन: सभापतिमा उम्मेदवारी दिएको देउवाको भनाइ छ। पार्टीलाई अझै सशक्त बनाएर कम्युनिस्टहरुसँग लड्न आफू सक्षम रहेकोले त्यसका लागि सभापतिको उम्मेदवार आफू भएको उनले दाबी गरे।
‘केपी शर्मा ओलीको शासनकालमा कस्तो डर त्रासमा बाँच्नुपरेको थियो? भोलि पनि त्यस्तै शासन आउनसक्छ, ’ उनले भने, ‘कुनै पनि हालतमा कम्युनिस्टहरुको शासनबाट मुक्त गर्ने मेरो प्रयास हो।’ उनले महाधिवेशनमा निष्पक्ष निर्वाचन हुने भएकाले ढुक्क भएर आफूले चाहेको उम्मेदवारलाई मत दिन उनले आग्रह गरे।
‘नेपाली कांग्रेसलाई फेरि पनि केन्द्र, प्रदेश र स्थानीय सरकारमा ल्याउन म सफल हुन्छु भन्ने विश्वास छ,’ उनले भने, ‘अहिले धेरै ठाउँमा कम्युनिस्टका सरकार बदल्न हामी सफल भएका छौं।’
प्रजातन्त्र बचाउने काममा कांग्रेस सधैँ अघि बढेको भन्दै उनले अब पनि अघि बढ्ने बताए। उनले भोलि हुने निर्वाचनमा सक्रिय सहभागी हुँदै आफूलाई जिताउन आह्वान गर्दै त्यसपछि गाउँ-गाउँदेखि सबै ठाउँमा कांग्रेस विजयी गराउने आफ्नो जिम्मेवारी भएको दाबी गरे। ‘म पार्टी सभापति हारे भने सरकारका पनि अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘हाम्रो पार्टीमा सभापति नै प्रधानमन्त्री हुने भएकाले म माथि नैतिक दबाब बढाइनेछ।’
उनले सरकार र कांग्रेसलाई सक्रिय बनाउन पनि आफू दोस्रो पटकका लागि सभापति हुनुपर्ने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।