काठमाडौं– कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारले भोट माग्न फरक शैली अपनाएका छन्। कोही छातामा ब्यानर राखेर, कोही उपचार केन्द्र चलाएर त कोही सांस्कृतिक पोशाक र बाजागाजासहित आफ्ना नेताका लागि मत मागिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट महिलातर्फ केन्द्रीय सहमहामन्त्रीकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाका पोस्टर एउटा छाताभरि राखिएका छन्। उनका समर्थक त्यही छाता बोकेर डलाउँदै भोट माग्न व्यस्त छन्।
देउवाकै प्यानलका केन्द्रीय सदस्यका उम्मेदवार सुनिल थापाका समर्थकले पनि उसैगरी छातामा पोस्टर राखेर मत मागिरहेका छन्। उनी राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री मनोनीत भएका थिए । तर, यसपटक देउवा समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार भएका छन्। त्यस्तै केन्द्रीय सदस्यका उम्मेदवार रवि सिंह, उदयशमशेर जबरालगायतका समर्थकले पनि छातामा पोस्टर राखेर प्रचार गरिरहेका छन्।
केन्द्रीय सदस्यकै उम्मेदवारहरु कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, ताराबहादुर कोइराला र जिपछिरिङ लामाले महाधिवेशनस्थलमा अस्थायी प्राथमिक उपचार केन्द्र खोलेर ‘सेवासहित’ मत मागिरहेका छन्। पाल टाँगेर उपचार केन्द्रमा पोष्टरहरु राखिएको छ। त्यहाँ आउनेलाई सामान्य प्रकारका औषधि दिने, चोटपटक लागे ब्यान्डेज लगाइदिने, रक्तचाप नाप्ने गरिन्छ।

जिपछिरिङ लामाको प्रचारका लागि भने उनको डमी पनि बनाइएको छ। डमीलाई गाडीमा राखेर घुमाउँदै प्रचारि गरिएको छ। ठेकेदारसमेत रहेका उनी नेपाली कांग्रेसका सांसद हुन्।
कञ्नचनपुरका राना थारु समुदायको संस्कृति झल्काउने पोसाक लगाएर पाँच जना किशोरी केन्द्रीय सदस्यका उम्मेदवार रमेश लेखक र नैनसिं महरका लागि मत मागिरहेका छन्। मत माग्नेसँग कार्यकर्ताहरू फोटो खिचाउन घुँइचो लागेको छ। उता, नवलपुरको थारु समुदायको सांस्कृतिक पोसाक लगाएर केन्द्रीय सदस्य विष्णुकुमार कार्कीका लागि कार्यकर्ताहरू मत मागिरहेका छन्। उनीहरुसँग पनि फोटो खिच्नेको घुँइचो छ।

केन्द्रीय सदस्यका अर्का उम्मेदवार मोहनबहादुर बस्नेतका समर्थकले भने स्टल राखेर मास्क र स्यानिटाइजर वितरण गरिरहेका छन्। त्यस्तै तुलसी सुब्बाका समर्थकले लिम्बू संस्कृति झल्काउने गरी ढोलक बजाउँदै मत मागिरहेका छन्। त्यति मात्र नभइ, विभिन्न जनतातिका पोशाक लगाएर बाजागाजासहित मत माग्नेहरू पनि छन्। झ्याली, ढोलक, मादल, नरसिङ्गा बजाएर मत माग्नेहरूको घुँइचो छ।
गीता चौधरीका लागी मत माग्न उनका समर्थकले पूर्वका चौधरी समुदायको सांस्कृतिक पोशाक लगाएर पर्चा बाँडिरहेका छन्। उम्मेदवारका ठूलो फोटोअगाडि टिकटक बनाउनेको लर्को पनि उस्तै छ। महाधिवेशनस्थलमा घाँटीमा उम्मेदवारको पोष्टर नझुन्डाएका कार्यकर्ता भेट्न मुस्किल छ। भित्ता र पोल ब्यानर र पम्प्लेटले भरिभराउ छ।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।