काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ।
निर्वाचनका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा गरी तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। अहिले मतदान केन्द्र निर्माणको क्रम चलिरहेको छ। एक हजार १०० बुथमार्फत् मतदान गर्ने व्यवस्था मिलाइएको छ।
मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ।
महाधिवेशनमा कूल चार हजार ७४३ महाधिवेशन प्रतिनिधि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।