काठमाडौं– बिग बास लिगमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।
जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। वर्षाको कारण २ ओभर घटेपछि डकवर्थ लेविस पद्धतिको आधारमा उक्त लक्ष्य पाएको हो।
सिड्नीका ओपनर जोश फिलिपेले सर्वाधिक ७२ रन बनाए। उनले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
यता, मोइजेस हेनरिक्स २६ रनमा अविजित रहे। जेम्श भिन्स २६ रनमा आउट भए। होबार्टका जोएल पेरिसले ३ विकेट लिए। नाथन एलिसले १ विकेट लिए।
यता, नेपाली लेगस्पिनर सन्दीप लामिछाने दोस्रो खेलमा सिड्नी सिक्सर्ससँग विकेट विहिन बने। विकेटको राम्रो अवसर बनाएपनि एकै ओभरमा २ क्याच ड्रप भएपछि सन्दीप विकेटविहिन बन्नु परेको हो।
त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। होबार्टका ओपनर म्याथ्यु वेडले सर्वाधिक ९३ रन बनाए। उनले ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। डार्सी शर्ट ५१ बलमा ७ चौका र ३ छक्कासहित ७३ रनमा अविजित रहे।
क्लेव ज्वेल ४२ रनमा आउट भए। सिड्नीका टम करन र क्रिस जोर्डनले १-१ विकेट लिए। होबार्ट पहिलो खेलमा १४ रनले पराजित भएको थियो। होबार्टले तेस्रो खेल मंगलबार पर्थ स्कोचर्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।