काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन्। मनोनयनको लागि तोकिएको समय सकिँदै गर्दा उनी उपस्थित नभएका हुन्।
चौधौं महाधिवेशनमा उनलाई सभापतिको उम्मेदवारको रुपमा हेरिएको थियो। तर उनले नेतृत्व गरिरहेको समूहले उनलाई एकल उम्मेदवारको रुपमा उभ्याउन नसक्दा उनले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग गरेको भन्दै वक्तव्य सार्वजनिक गरेका हुन्।
पौडेल तेह्रौं महाधिवेशनमा सभापतिका उम्मेदवार भएका थिए। त्यतिबेला उनी शेरबहादुर देउवासँग पराजित भएका थिए।पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट आफूलाई अलग राखेसँगै उनको लामो राजनीतिक जीवन पनि अन्त्यतिर पुगेको चर्चा हुन थालेको छ।
नेता गगन थापाले रामचन्द्र पौडेलको स्थान गणेशमान सिंहको जस्तै भएको बताइसकेका छन्। शनिबार महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि थापाले भने- ‘नेपाली कांग्रेसले जसरी गणेशमानलाई सम्झियो। उहाँ पार्टीको सभापति त कहिल्यै हुनुहुन्न थियो नि। तर गणेशमानको लागि हामीमा विशिष्ट स्थान छ नि। रामचन्द्र पौडेलले त्यस्तो स्थान सिर्जना गरिसक्नुभयो।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।