काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेलले परिवर्तन एकैपल्ट सम्भव नहुने बताएका छन्। कांग्रेसमा युवाको नेतृत्वलाई लिएर दबाब सिर्जना गर्ने समूहमा रहेका उनलाई पत्रकारले गरेको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।
कुनै समय देउवाविरुद्ध व्यक्तव्य निकाल्ने समूहमा समेत रहेका उनले देउवालाई सभापतिमा स्वीकारेर महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। उनले भने, 'सवै कुरा एकैपटक हुँदैन। केन्द्रीय कमिटीमा ठूलो संख्यामा युवा आउनुहुनेछ।'
महामन्त्रीमा आफ्नो उम्मेदवारी पार्टीलाई मिलाएर लैजान रहेको बताए। उनले भने, 'पार्टीका आन्तरिक समस्या छन्। ती सवै समस्या समाधान गर्नका लागि मेरो उम्मेदवारी हो।'
उनले पार्टीमा वृहत एकता निर्माण गर्ने र सवैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले पनि आफू महामन्त्रीको प्रत्यासी बनेको बताए। महामन्त्रीमा युवाहरुकै भिडन्तका विषयमा उनले प्रतिक्रिया दिन चाहेनन्। प्रतिस्पर्धा हार्दिक हुने उनले अपेक्षा गरे।
महामन्त्रीमा देउवा प्यानलबाट पौडेलका साथै डा प्रकाशशरण महत छन् भने डा शेखर कोइरालाको प्यानलबाट गगनकुमार थापा र मिनेन्द्र रिजाल छन्। प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।