काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीलाई परिर्वतन गर्नसक्ने र भिजन दिनसक्ने नेता प्रकाशनमान सिंह नै भएको दाबी गरेकी छन्।
सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी कोइरालाले आफूले उक्त प्यानल रोज्नुको कारण खुलाएकी हुन्।
'गणेशमान सिंहको छोरामात्र नभएर आफ्नै पनि योगदान भएकाले उहाँको प्यानलमा लागेकी हुँ। कांग्रेसलाई ठूलो पार्टी बनाउनका लागि पनि प्रकाशमान नै योग्य उम्मेदवार हो,' सिंह प्यानलको घोषणा सभामा उनले भनिन्, 'नेपाली कांग्रेस खुम्चँदै गएकाले तराईदेखि हिमालसम्म समेटेर प्यानल बनाएकाले देशभरको प्रतिनिधित्व गर्नेछ।'
महिलादेखि जनजातिसम्मको तर्फबाट उम्मेदवारी दायर हुने उनले बताइन्। अब आउने निर्वाचनमा नयाँ अनुहारसमेत दिनसक्ने दाबी उनले गरिन्। देशभरको जनताले समर्थन गरेर अत्यधिक मतले जिताउने उनको दाबी छ।
'प्रकाशमानजी जनजाति हुनुहुन्छ, म आफैं महिला छु। अरु साथीहरू पनि अट्ने छन्। अब आउने चुनावमा नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन यही नेतृत्वले मात्र सम्भव छ.' कोइरालाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।