काठमाडौं– सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक चलिरहेको स्थलबाहिर कार्यकर्ताले नाराबाजी गर्न थालेका छन्।
शुक्रबारदेखि सुरु भएको १४औं महाधिवेशनको उद्घाटन सभापछि संस्थापन इतर (पौडेल) पक्षका नेताहरु बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा छन्।
सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै नेताहरु बैठकमा रहेका बेला बाहिर कार्यकर्ताले नाराबाजी सुरु गरेका हुन्।
कार्यकर्ताहरुले 'हाम्रो धर्ना जारी छ', 'साझा उम्मेदवार कायम गर' लगायतका नारा लगाइरहेका छन्।
कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आकांक्षी छन्।
संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।