काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले ६ वर्षको अवधिमा ११ करोड बढी रुपैयाँ चन्दा बापत उठाएको देखिएको छ।
१४औं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत लेखा प्रतिवेदनमा आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष ०७७/७८ सम्म ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोगबाट उठेको उल्लेख छ।
यस अवधिमा सबैभन्दा धेरै रकम भने सदस्यता नवीकरण दस्तुरबाट उठेको प्रतिवेदनमा उल्लेख छ। ६ वर्षमा नवीकरण दस्तुरबाट १८ करोड ७४ लाख ६२ हजार १५० रुपैयाँ संकलन भएको प्रतिवेदनमा जनाइएको छ। नवीकरण दस्तुरबाट सबैभन्दा धेरै आर्थिक वर्ष ०७७/७८ मा ९ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ संकलन भएको प्रतिवेदनमा जनाइएको छ।
यो अवधिमा कुपन तथा पब्लिकेशन बिक्रीबाट ३४ लाख ३१ हजार र अन्य आम्दानीबाट १ करोड ६६ लाख ९० हजार ९८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक (कात्तिक मसान्त)सम्मको अवधिमा नवीकरण दस्तुरबाट ४ करोड ४० लाख, कुप तथा पब्लिकेशन बिक्रीबाट ४ लाख ५० हजार र अन्य आम्दानीबाट १४ लाख ५० हजार गरी ४ करोड ५९ लाख रुपैयाँ संकलन भएको प्रतिवेदनमा जनाइएको छ।
आर्थिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार विभिन्न शीर्षकमा भएको खर्चपछि हाल विभिन्न बाणिज्य बैंकहरुमा गरी १ वर्षे मुद्दतिमा १० करोड रुपैयाँ बचत रहेको छ। यस्तै, चल्ती खातामा २ करोड रुपैयाँ जम्मा रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।