काठमाडौं- कांग्रेसको चौधौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।
देउवाले खासगरी ओलीको सरकार सञ्चालन शैलीको आलोचना गरेका हुन्। उनको पालामा डर र त्रास रहेको भन्दै आफू सरकारमा आएपछि हटेको देउवाले बताए। ‘जुन दिन मेरो सरकार बन्यो। त्योभन्दा अगाडिका दिन कस्तो डर त्रास थियो। म प्रधानमन्त्री भएको भोलिपल्टदेखि सारा मानिसले मुक्ति पाएजस्तो गरे। सबैले ओलीको शासनबाट मुक्ति पाए,’ उनले भने।
देउवाले डर र त्रासको अवस्थाबाट मुक्ति पाएको भन्दै त्यसलाई बचाउने हो कि नबचाउने हो? भन्दै प्रश्न सोधे। अनि आफैंले ‘बचाउने हो’ भन्दै जवाफ दिए। ‘त्यसका लागि यो महाधिवशेनले तय गर्छ,’ उनले भने।
डर त्रासबाट मुक्त समाज, फेरि कुनै किसिमको तानाशाही सरकार नआओस् भन्नाका लागि महाधिवेशनले निर्णय गर्नुपर्ने उनको भनाइ थियो। ‘महाधिवेशनले त्यस खालको निर्णय गरेको खण्डमा आउँदो सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो,’ देउवाले भने।
उनले कांग्रेसको सरकार रहिरह्यो भने स्थानीयदेखि राष्ट्रिय सरकार कांग्रेसको हुने दाबी गरे। अनि बल्ल गुह्य खोले, ‘त्यसका लागि मलाई यसपटक जिताइदिनुस्। मलाई धेरै कुरा भन्नु छैन।'
देउवाले पुनः उही कुरामा जोड दिए, ‘कुनै पनि हालतमा डर त्रासमुक्त शासन ल्याएरै छाडिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।