काठमाडौं- तेह्रौं महाधिवशेनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादवले आफूलाई दिएको जिम्मेवारीप्रति आभारी प्रकट गरेकी छिन्। निर्वाचित भएको झण्डै ६ वर्षपछि चौधौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले सोचेअनुसार काम भने गर्न नसकेको बताइन्।
‘तपाईंहरुले पार्टीको कोषको रक्षा गर्नको लागि महत्त्वपूर्ण अभिभारा दिनुभएको थियो। त्यसको निमित्त म आभारी छु। मैले पार्टीको कोषलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन खोजेको थिएँ। तर सोचेअनुसार हुन सकेन,’ उनले भनिन्।
यादवले कार्यकर्ताको मर्यादा र महानतालाई ध्यानमा राखेर आफूले पार्टी कोषलाई व्यवस्थित गरेको भन्न भने छाडिनन्। ‘तपाईं (कार्यकर्ता)हरुले दिएको पैसा फिक्स डिपोजिटमा १० करोड र बैंक खातामा करिब दुई तीन करोड छ,’ उनले भनिन्।
तेह्रौं महाधेशनमा यादव रामचन्द्र पौडेल प्यानलबाट विजयी भएकी थिइन्। यसपटक भने यादवले कुनै पदमा उम्मेदवारी नदिने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।