काठमाडौं- सभापतिको उम्मेदवार टुङ्ग्याउन नसकेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ। यसका लागि आज साँझ ५ बजे अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक बस्ने भएको छ।
पौडेलनिवास बोहराटारमा पुगेका नेताहरु मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापा लगायत नेताहरुले दुई कोइराला (डा. शशांक र शेखर)लाई साथमा लिएर अघि बढ्न पौडेललाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।
पौडेलले भने टिमबाट सर्वसम्मत निर्णय गरेर आफूलाई उम्मेदवार बनाए मात्र चुनाव लड्ने बताएका थिए। 'तपाईंहरु छलफल गर्नुस्, एउटा निचोड मा पुग्नुस्। टिमबाट सर्वसम्मत भए ठीक छ, नत्र म चुनाव लड्दिनँ,' पौडेलको भनाइ उद्धृत गर्दै ती नेताले भने।
नेताहरुले भने पौडेल जसरी पनि उम्मेदवार बन्नुपर्नेमा जोड दिएका थिए। 'हिजो पनि तपाईं टिमको नेता हुनुहुन्थ्यो। आज पनि टिमकै नेता हो। तपाईंले लिडरसिप गर्नुपर्छ। ५ बजे डिक्लियर गर्छौं। जो-जो आउँछन् आउँछन्, आकांक्षी, नआउने आउँदैनन्। तपाईं नै लड्नुपर्छ,' नेताहरुले पौडेललाई भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।