काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी थप गर्ने तयारी गरेका छन्।
बिहीबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पार्टी सहमहामन्त्री थप गर्ने प्रस्ताव लैजाने तयारी गरेका हुन्।
देउवाले केन्द्रीय समितिमा उक्त प्रस्ताव ल्याउन लागेकोले सहमति खोज्न भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पठाएका थिए।
सन्देश पुगेसँगै नेता पौडेलले सभापति देउवालाई फोन गरी विधान संशोधन गरी पदाधिकारी थप्ने कार्य मान्य नहुने बताएका थिए।
त्यसपछि पौडेलले आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताए।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलमार्फत् महाधिवेशनको एक दिन अघि विधान चलाउन खोजिएको भन्दै त्यसमा आफ्नो असहमति जनाएका पौडेलले सोही कारण बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन्।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी देउवाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।