काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन सन्निकट छ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका परम्परागत दुई गुट आ-आफ्नै खालको संकटमा फसेका छन्।
संस्थापनइतरले सभापतिकै साझा उम्मेदवार तय गर्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवा पक्षलाई पदाधिकारीमा आंकाक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। संस्थापन पक्षलाई सवैभन्दा धेरै सकस महामन्त्रीको उम्मेदवार टुंग्याउन परेको छ। महामन्त्री कांग्रेसको आगामी नेतृत्वको समेत प्रत्यासी रहने कार्यकारी पद भएकाले अधिकांश नेताहरुले आकांक्षा राखेका हुन्।
जम्मा दुई जना निर्वाचित हुने महामन्त्री पदमा संस्थापन पक्षबाटै तेब्बर आकांक्षी देखिएका छन्। उनीहरु एकले अर्कोलाई सहमति गर्ने पक्षमा समेत देखिएका छैनन्। संस्थापन पक्षबाट वर्तमान सह-महामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीको दाबी नछाड्ने बताएका छन्।
संस्थापनबाट नयाँ पुस्ताका नेता विश्वप्रकाश शर्माले केही महिनाअघि नै नीतिसहित नेतृत्वको दाबेदारी पेश गरिसकेका छन्। संस्थापन पक्षका अन्य नेताहरुलाई उछिनेर प्रचारप्रसार समेत गरेका छन्।
सभापति देउवाले कहिल्यै नछाड्ने र देउवालाई सधैं सहयोग गरेका अन्य दुई नेता एनपी साउद र रमेश लेखक पनि महामन्त्रीकै दाबेदार छन्। उनीहरु देउवाकै प्रदेशका समेत हुन्। यी ६ वटै नाम देउवाका लागि काखापाखा गर्न मिल्ने छैनन्।
देउवा उनीहरुलाई पेलेर मनखुशी उम्मेदवार तोक्ने अवस्थामा समेत छैनन्। दोस्रो कार्यकाल सभापतिको दाबी गरिरहेका उनले सवैलाई मिलाएर लैजान सक्दा मात्रै जित निकाल्ने सम्भावना रहन्छ।
पदाधिकारीका उम्मेदवार टुंग्याउने विषयमा सभापति देउवाले बुधबार बिहान आफू निकट आकांक्षीहरुसँग छलफल गरेका थिए। निजी निवास वुढानीलकण्ठमा बोलाएको उक्त बैठकमा आकांक्षीहरुले दाबेदारी पेश गरेका थिए।
एउटै पदमा बहुआकांक्षी देखिएपछि देउवाले पदाधिकारीको टुंगो लगाउन सकेनन्। बरु उपसभापति, महामन्त्री, सह–महामन्त्री लगायत पदाधिकारीका पदका आकांक्षीको नाम टिपेर लगेको उक्त बैठकमा उपस्थित एक नेताले बताए।
महामन्त्री नै बन्ने चाहना भएका कांग्रेस नेताको सूची भने अझ लामो बन्छ। संस्थापनइतर समूहमा रहेका गगन थापा महामन्त्रीको बलियो उम्मेदवार मानिन्छन्। १३औं महाधिवेशनमा सोही पदमा उठेर पराजित भएका उनी यसपल्ट जसरी पनि जित निकाल्नेगरी सक्रिय छन्। संस्थापनइतरका मिनेन्द्र रिजाल, धनराज गुरुङ र प्रदीप पौडेल पनि महामन्त्री पदमै उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
सहमहामन्त्री थप्ने तयारी
आकांक्षी धेरै तर पद कम भएपछि सभापति देउवाले सहमहामन्त्री थप गर्ने तयारी गरेका छन्। बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा यो प्रस्ताव ल्याउने देउवाको तयारी छ। बैठक भर्खरै सानेपामा सुरु भएको छ।
पदाधिकारीमा आकांक्षीहरु धेरै भएको र नेताहरुको पद व्यवस्थापन गर्नका लागि सहमहामन्त्रीमा कम्तिमा दुई जना थप गर्ने नेताहरुले बताएका छन्। 'पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव केन्द्रीय समितिको आजको बैठकमा आउन सक्छ। शीर्ष नेताहरु बीचमा कुरा हुन पाएको त छैन। तर, प्रस्ताव आउन सक्छ,' देउवा पक्षीय एक नेताले भने।
संस्थापन इतरपक्षले भने सभापतिबाट त्यस्तो प्रस्ताव आए प्रतिवाद गर्ने तयारी गरेको छ। 'केन्द्रीय समितिमा उक्त प्रस्ताव आए, प्रतिवाद गरिन्छ,' संस्थापनइतरपक्षका नेता अर्जुननरसिंह केसीले भने।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ नभएकाले दुईजना सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी गरिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।