काठमाडौं– होबार्ट हरिकेन्स बिग बास लिगअन्तर्गत पहिलो खेलमा सिड्नी सिक्सर्ससँग पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा होबार्ट सिड्नीसँग १४ रनले पराजित भएको हो।
१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो।
होबार्टका पिटर ह्यान्ड्सकम्बले सर्वाधिक ४७ रन बनाए। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यता, डार्सी शर्ट २१, म्याथ्यु वेड र केलेव ज्वेल २०/२० र जोर्डन कक्स १० रनमा आउट भए।
सिड्नीका टम करनले ३ विकेट लिए। हेडेन केरले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो।
सिड्नीका कप्तान मोइजेस हेनरिक्सले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। टम करनले २७ रन बनाए।
होबार्टका थोमस रोर्जसले ३ विकेट लिए। नाथन एलिसले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए। होबार्टले दोस्रो खेल शनिबार सिड्नी सिक्सर्ससँग नै खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।