काठमाडौं– सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार टुंग्याउन बसेको रामचन्द्र पौडेल लगायतका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। यसअघि सभापतिमा दाबी गरेका रामचन्द्र पौडेल, शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेको नेता रामशरण महतले बताए।
‘म पनि लड्ने, म पनि लड्ने, म पनि लड्ने, नछोड्ने भन्ने। रामचन्द्रजीले पनि मलाई लड्नको लागि सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ’, महतले भने।
नेताहरुले आफ्नो दाबी नछाडेपछि नेता पौडेलले भने अरु सबै एक भए भने आफू छाड्न तयार रहेको बताएका थिए। नत्र आफूलाई छाड्नुपर्ने उनको भनाइ रहेको नेता महतले बताए।
पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा हुने पनि बताएको महतको भनाइ छ। ‘सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु, पार्टीबाटै अलग हुन्छु’, पौडेलको भनाइ उद्धृत गर्दै महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।