काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका नेताहरु १४औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन बुधबार पनि 'असफल' भएका छन्।
साझा उम्मेदवार तय गर्नका लागि भोलि (बिहीबार) फेरि बैठक बस्ने नेताहरुले जानकारी दिएका छन्।
बुधबार बिहान बानेश्वरमा बसेको बैठकमा साझा उम्मेदवारको विषयमा 'सहमति' जुट्न नसकेपछि दिउँसो नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शीर्ष नेताहरुको बैठक बसेको थियो।
चाक्सीबारीको बैठकमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालासहित केन्द्रीय सदस्यहरु सहभागी थिए।
सभापतिका आकांक्षीहरुले लचक हुने संकेत नदेखिएपछि चाक्सीबारी बैठक निष्कर्षविहीन भएको हो।
बैठकबाट बाहिरिने क्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेताहरुबीच 'कुरा नमिले'को बताए। 'आज कुरा मिलेन। भोलि (बिहीबार) बिहान ८ बजे फेरि बैठक बस्ने भन्ने कुरा भएको छ,' भण्डारीले भने।
केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार बिहीबार बिहान सभापतिका आकांक्षी बाहेकका नेताहरुबीच बैठक बस्ने सहमति जुटेको छ।
'भोलि बिहान ८ वजे बानेश्वरमा बस्ने। अनि त्यहाँवाट सुझाव लिएर आउने र छलफल गरेर निकास निकाल्ने कुरा भएको छ, ’ घिमिरेले भने ‘उहाँहरु (सभापतिका आकांक्षीहरु) बाहेको छलफल गरेर विकल्पसहितको धारणा पेस गर्छौ, अनि मिल्ला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।