काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका सम्बन्धमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ।
बिहीबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए। प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक अजेण्डाका विषयमा समेत छलफल हुने ति नेताले बताए। यस्तै बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीति प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताएको छ।
माओवादीमा सात भौगोलिक, विशेष, सम्पर्क र प्रवास गरेर १० प्रदेशको अवधारणा बनाइएको छ। ति प्रदेशको सम्मेलन शनिबार देशैभर दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालयबाट प्रचण्डले दशैं प्रदेशको उद्घाटन र सम्बोधन गर्ने छन्।
प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत नभएमा निर्वाचन गर्न सात सदस्यीय निर्वाचन समितिसमेत बनाइसकेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए।
प्रदेशमा एक संयोजकसहित अरु ६ जना सदस्य हुने भएका छन्। माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ। माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ। महाधिवेशनमा १ हजार ५ सय भन्दा धेरै प्रतिनिधि देशैभरबाट सहभागी हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।