काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित हुने दाबी गरेका छन्।
सभापति चयन गर्नका लागि दोस्रो चरणको मतदानमा जानै नपर्ने उनले ठोकुवा गरे। महाधिवेशन प्रतिनिधिका आधारमा देउवा स्पष्ट बहुमतमा रहेको उनको दाबी छ।
‘दोस्रो चरणको मतदान हुने अवस्था आउँदैन। पहिलो चरणमा नै सभापतिमा उहाँ (देउवा) विजयी हुनुहुन्छ’ महतले नेपाल लाइभसँग भने, ‘प्रतिनिधि बहुमत देखिएको छ।’
नेता कृष्णप्रसाद सिटौला पक्षसहित अन्य पनि आफ्नो समूहमा जोडिने उनले बताए। ‘सिटौलाको मात्रै कुरा भइरहन्छ। अरु अरु पनि यता आउँछन्’ महतले भने, ‘उम्मेदवारी मनोनयन गर्ने बेलासम्म अर्को समूहका पनि आउँछन्।’
सुझबुझ तरिकाले पार्टी सञ्चालन गर्ने क्षमता देउवामा बाहेक अन्य सभापतिको दाबी गर्ने नेतामा नभएको उनले बताए। सबै पक्षलाई मिलाउन सक्ने भएकाले नै देउवाको हातमा अरुले सत्ताको जिम्मेवारी दिएको उनको बुझाइ छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता सिटौला पक्षबाट नेताहरु तान्नकै लागि देउवा पक्षले बुधबार उम्मेदवार टुंगो नलगाएको समेत बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।