काठमाडौं- नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता लिनेको संख्या ८ लाख २५ हजार पुगको छ। पार्टीको वडा, पालिका र प्रदेश सम्मेलन भएकाले पार्टी सदस्यता सफ्टवेरमा राख्न बन्द गरिएकको र हार्डकपी मगाएर अपडेट भइरहेको माओवादीको पार्टी कार्यालयका आईटी विभाग प्रमुख शिव खकुरेलले बताए।
‘पार्टीको वडा, पालिका र प्रदेश सम्मेलन धमाधम भइरहेकाले सफ्टवेरबाट पार्टी सदस्यता भर्दा प्रभावित हुने भएकाले बन्द गरेका छौं। त्यसैले पालिका, जिल्ला र प्रदेशबाट पार्टी सदस्यताको हार्डकपी फर्म भरेर कति केन्द्रीय कार्यालयमा आइसकेका छन्। कति आउने क्रममा छन्’ खकुरेलले भने, ‘अहिलेसम्म कूल पार्टी सदस्यता ८ लाख २५ हजार सफ्टवेरमा अपडेट भइसकेको छ। अझै ६० हजार जति हार्डकपी पेन्डिङमा होला। सबै गर्दा पार्टी सदस्यता ९ लाख पुग्ने देखियो।’
कूल ७७ जिल्लामध्ये सबै भन्दा धेरै पार्टी सदस्यता कैलाली जिल्लाबाट २९ हजार एक सय ६ जनाले लिएको खकुरेलले जानकारी दिए। दोस्रोमा गोरखा जिल्लाबाट २५ हजार ५ सय २६ जनाले पार्टी सदस्यता लिएका छन्। देशभर रहेका ७५३ पालिकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाबाट ४ हजार २ सय ३२ जनाले पार्टी सदस्यता लिएका छन्। माओवादीको ८ लाख २५ हजार पार्टी सदस्यतामध्ये २९ प्रतिशत महिलाले लिएको खकुरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।