काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीका उम्मेदवार छान्ने रस्साकस्सी पनि सुरु भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको (इतर) पक्षले पदाधिकारीका उम्मेदवार टुंग्याउन सकेको छैन।
संस्थापन पक्षबाट सभापतिमा देउवाले आफैं दोहोरिने घोषणा गरिसकेका छन्। तर, अरु पदाधिकारीका लागि भने उम्मेदवार छान्ने सकस छ।
संस्थापन इतर पक्षमा त सभापतिका उम्मेदवारकै विषयमा एकमत छैन। संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्।
वरिष्ठ नेता पौडेललाई साझा उम्मेदवारका रुपमा अगाडि सार्ने सहमति भएको हकमा भने महामन्त्री कोइरालाले आफू पछि हट्ने संकेत गरेका छन्। तर, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको हकमा आ–आफ्नो अडानमा कायम छन्।
पदाधिकारीका उम्मेदवार टुंग्याउने विषयमा सभापति देउवाले बुधबार विहानै आफू निकट आकांक्षीहरुसँग छलफल गरेका थिए। पार्टी सभापतिको रुपमा फेरि पनि उम्मेदवार हुने घोषणा गरेका देउवाले त्यसपछिका आकांक्षीहरु धेरै भएकाले मिलाउन निजी निवास वुढानीलकण्ठमा बैठक वोलाएका थिए।
देउवाले बोलाएको बैठकबाट पदाधिकारीका उम्मेदवारको टुंगो लागिसकेको छैन। तर, उनले त्यहाँ पार्टी उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायत पदाधिकारीका पदका आकांक्षीको नाम टिपेका छन्।
देउवा पक्षमा महामन्त्री पदको उम्मेदवार तोक्ने विषय सबैभन्दा पेचिलो बन्दै गएको छ। देउवा निकट धेरै नेताहरुले महामन्त्रीमा आकांक्षा राखेका छन्। हाल गृहमन्त्री समेत रहेका बालकृष्ण खाण महामन्त्रीका बलिया दाबेदार हुन्। यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पनि महामन्त्रीमै दाबेदारी प्रस्तुत गर्दै आएका छन्।
देउवा पक्षबाट नेताहरु प्रकाशशरण महत, एनपी साउँद लगायत पनि महामन्त्रीका आकांक्षी हुन्।
सभापतिका लागि साझा उम्मेदवार तय गर्ने भनेर सोमबारदेखि सामूहिक छलफलमा जुटेका संस्थापन इतर पक्षका नेताहरुबीच बुधबार पनि छलफल भएको छ। बुधबार बिहान बानेश्वरमा भएको छलफलपछि इतर पक्षका नेताहरु प्रकाशमान सिंहको निजी निवास चाक्सीबारीमा भेला भएका छन्।
इतर पक्षका नेताहरु साझा उम्मेदवार तय गर्ने भन्दै सोमबारदेखि सामूहिक छलफलमा जुटेका थिए। त्यसपछि मंगलबार दिनभरजसो नेताहरुबीच छलफल भएको थियो।
मंगलबारको छलफलबाट उठ्ने क्रममा नेताहरुले बुधबारसम्म साझा उम्मेदवार तय भइसक्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।