काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा सानदार सुरुवात गरेका छन्। होबार्ट हरिकेन्सबाट खेलिरहेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन्।
सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए। टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी १३ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएको छ।
होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो। सन्दीपले पहिलो ओभरमा मात्र ३ रन खर्चिदै उत्कृष्ट सुरुवात गरे। यस्तै, सन्दीपले नवौं ओभरमा ३ रन खर्चेर १ विकेट लिए। नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट ५ रनमा क्याच आउट भए।
सन्दीपले ११औं ओभरमा ७ र १३औंमा २ चौकासहित ११ रन खर्चिए। समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए। सन्दीपले ९ बल डट राखेका थिए।
प्रतियोगितामा सहभागी हुन सन्दीप नोभेम्बर २४ मा त्यसतर्फ प्रस्थान गरेका थिए। सन्दीपले अघिल्लो सिजन पनि होबर्ट हरिकेन्सबाटै बिग बास खेलेका थिए।
त्यसअघि उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। उनी लगातार चौथो सिजन बिग बास खेलिरहेका छन्। सिड्नी सिक्सर्स अघिल्ला दुई सिजनको विजेता हो। उसले पहिलो सिजनसहित हालसम्म तीनपटक यो प्रतियोगिता जितेको छ।
यता, होबर्ट हुरिकेन्स सन् २०१३/१४ र २०१७/१८ सिजन फाइनलसम्म पुगेको थियो भने गत संस्करणमा चौथो भएको थियो। सन्दीपले बिग बास लिगको उपाधि जित्न सकेका छैनन्। सन्दीपले खेल्नेक्रममा मेलबर्न लगातार दुईपटक फाइनल पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।
सन्दीपले बिग बास लिगमा हालसम्म खेलेका ३० खेलमा ३५ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।