काठमाडौं- कप्तान प्याट कमिङसको घातक बलिङसँगै अस्ट्रेलियाविरुद्धको एसेस क्रिकेट सिरिजअन्तर्गतको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इङ्ल्याण्ड १४७ रनमा अलआउट भएको छ।
बुधबारबाट ब्रिसबेनमा सुरु भएको सिरिज वर्षाका कारण प्रभावित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्ड ५०.१ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको हो।
इङ्ग्ल्याण्डका लागि जोस बटलरले सर्वाधिक ३९ रन जोडे। उनले ५८ बलमा ५ चौका प्रहार गरे।
यता, ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए भने हसिव हमिद २५ रनमा आउट भए। उनले ७५ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने अस्ट्रेलियासामू दोहोरो अंकमा रन बनाउन सकेनन्।
इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका कप्तान प्याट कमिङसले सर्वाधिक ५ विकेट हात पारे। उनले १३.१ ओभर बलिङ गर्दै ३ मेडन राखेर ३८ रन खर्चिए। कमिङसको कप्तानीको यो पहिलो टेस्ट हो।
यता, मिचेल स्टार्क र जोस ह्याजलउडले समान दुई/दुई विकेट लिए भने क्यामरोन ग्रिनले एक विकेट हात पारे।
वर्षाका कारण खेल स्थगित भएपछि अस्ट्रेलियाले पहिलो दिन ब्याटिङ गर्न पाउने छैन।
इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीच पाँचवटा टेस्ट खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।