काठमाडौं- आसन्न महाधिवेशनमा पदाधिकारी चयन गर्नका लागि भन्दै बसेको कांग्रेस संस्थापनपक्षको बैठक सकिएको छ।
बुधबार साढे १० बजेबाट सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले पदाधिकारीमा उम्मेदवारको टुंगो भने लगाउन सकेन।
बैठकमा पदाधिकारीमा आकांक्षा राख्नेहरुको नाम टिपोट गर्ने कार्य भएको बैठकपछि नेता एनपी साउदले जानकारी दिए।
'आज आकांक्षीको नाम टिपोट गर्ने मात्रै कार्य भयो। कुनै निर्णय भएको छैन,' उनले भने, 'फेरि बैठक बस्ने छ। '
अर्को बैठकको टुंगो भने नलागेको उनले जानकारी दिए।
बैठकमा संस्थापनपक्षबाट पदाधिकारीमा आकांक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न सकस परेको हो। संस्थापन पक्षबाट महामन्त्रीमा डा प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले दाबी गरेका थिए।
महामन्त्रीका अर्का आकांक्षी ज्ञानेन्द्र कार्की ढिला गरि बैठकमा सहभागी भएका थिए। कांग्रेस विधानमा आठजना सहमहामन्त्रीको व्यवस्था भएकाले धेरै जनाले उम्मेदवारको आकांक्षा गरेका छन्। उपसभापतिमा भने हालसम्म कसैले पनि दाबी गरेका छैनन्।
कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।