काठमाडौं- कांग्रेस नेता कृष्णप्रसाद सिटौलापक्षले १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले सहकार्य हुन सक्ने कुनै प्याकेज नल्याएको बताएको छ।
बुधबार विहान चण्डोलस्थित नेता सिटौला निवासमा उनीपक्षीय नेताहरुको बैठक बसिरहेको बेला वरिष्ठ नेता पौडेल आफूलाई सहयोग गर्न भन्दै पुगेका थिए।
'उहाँ(पौडेल)ले सहयोग मागे पनि गर्न सकिने अवस्था रहेन,' सिटौलापक्षीय बैठकमा सहभागी नेता भीमसेनदास प्रधानले नेपाल लाइभसँग भने, 'सहकार्य हुनसक्ने कुनै प्याकेज पौडेलजीले ल्याउनु भएन।'
पौडेलले सहकार्यका लागि कुनै प्याकेज नल्याएपछि के को आधारमा सहकार्य गर्ने भन्ने कुरा उठेको उनले बताए।
नेता सिटौलाले पौडेलसँगको भेटमा सहयोग कुन आधारमा गर्ने भन्दै प्याकेज माग गरेका थिए।
'सहयोग मागेर कुन आधारमा गर्ने? आधार त चाहियो नि, भनेर कृष्ण दाइले भन्नु भयो' पौडेल र सिटौलाको भेटबारे जानकारी दिँदै प्रधानले भने।
सिटौलापक्षको बैठकमा सहभागी उनीपक्षीय नेताहरुले इतरपक्षसँग भन्दा संस्थापनपक्षसँग मिल्न सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।