काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी महाधिवेशनमा शेरबहादुर देउवा ५६ प्रतिशत मतसहित सभापतिमा विजयी हुने प्रक्षेपण गरेको छ। हालै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनमा बलियो देखिएकाले महाधिवेशनमा पनि आफूहरू नै हाबी हुने सो पक्षका नेताहरूको निष्कर्ष छ।
नेपाल लाइभलाई प्राप्त देउवा पक्षको 'सर्वेक्षण'को अन्तिम निष्कर्षमा धनकुटा क्षेत्रनम्बर १ र प्रदेश २ का महाधिवेशन प्रतिनिधिलाई जोडिएको छैन। धनकुटा क्षेत्रनम्बर १ र प्रदेश २ को प्रतिनिधि बाहेक नै पनि देउवा पक्षलाई ५१.२ प्रतिशत मत प्राप्त हुने उनीहरूको तथ्यांक छ। सोही आधारमा उनीहरूले समग्र मतभारको ५६ प्रतिशत आफ्नो हिस्सा भएको प्रक्षेपण गरेका हुन्।
यसअघि कांग्रेस महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुनसक्ने आकलन गरिएको थियो। तर, देउवा पक्ष पहिलो चरणबाटै नतिजा निस्किनेमा ढुक्क देखिन्छ।
कूल ३ हजार ४२२ जना महाधिवेशन प्रतिनिधिको आधारमा गरिएको सर्वेक्षणमा १ हजार ७५५ जना आफ्नो 'साथमा' रहेको देउवा पक्षको प्रक्षेपण छ। उक्त संख्या ५१.२ प्रतिशत हो। देउवा पक्षले गरेको प्रक्षेपण अनुसारनै ५१.२ प्रतिशत प्रतिनिधिको मत पाए देउवा पहिलो चरणमै सभापति निर्वाचित हुनेछन्।
त्यस्तै, १ हजार ४०३ जना कोइराला–पौडेल पक्षमा रहेको देउवा पक्षले निकालेको सर्वेक्षणले देखाउँछ। उक्त संख्या ४०.९९ प्रतिशत मात्रै हो।
सर्वेक्षणमा लिइएका प्रतिनिधिमध्ये १४७ जना सिटौला पक्षमा देखिन्छन्। त्यो ४.२९ प्रतिशत हो। कांग्रेसकै अन्य समूहका प्रतिनिधि संख्या ५९ जना अर्थात् १.७ प्रतिशत देखिन्छ। कुनै पक्षमा नखुलेका प्रतिनिधिको संख्या ५८ जना अर्थात् १.७ प्रतिशत रहेको देउवा पक्षको 'सर्वेक्षण नतिजा'मा उल्लेख छ।
प्रारम्भिक सर्वेक्षणमा उल्लेख नगरिएको प्रदेश २ मा पनि देउवा पक्ष नै बलियो रहेकाले आफ्नो पक्षमा प्राप्त हुने मत प्रतिशत बढ्नेमा संस्थापन पक्ष ढुक्क जस्तै छ। संस्थापन पक्षबाट नै सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधिले प्रदेश २ मा पराजित हुने गरी मत काट्न नसक्ने विश्लेषण देउवा पक्षको छ।
प्रतिस्पर्धाका सम्भावित अन्य सबै पक्षलाई एकातिर र संस्थापन पक्षलाई अर्कोतिर राखेर सर्वेक्षणको नतिजा निकालिएको हो। मतदानको क्रममा ५ प्रतिशत मत ‘स्विङ’ हुनसक्ने भएकाले ५१ प्रतिशत मत आउनेमा संस्थापन पक्ष ढुक्क देखिन्छ।
देउवा पक्षले आफ्नो समूहमा सिटौला पक्ष गाभिने दाबी समेत गरेको छ। सिटौला पक्षका केही नेतालाई जिताउने गरी उक्त पक्षको व्यवस्थापन हुने बताइएको छ। सिटौला पक्ष गाभिँदा देउवाका लागि जित थप सहज हुने बुझाइ छ। प्रदेश १ मा कमजोर रहेको महसुस गरेको संस्थापन पक्षले सिटौला समूहलाई जोडेपछि सो समूहको मत पनि आफ्नै पोल्टामा पर्नेमा विश्वस्त छ।
सिटौलालाई आफ्नो पक्षमा तान्नकै लागि देउवाले प्रदेश १ मा उक्त समूहका उम्मेदवार उद्धव थापालाई समर्थन जनाएको बताइन्छ। संस्थापनको बलमा थापाले सभापतिमा गुरुराज घिमिरेलाई हराएका थिए। झापा, मोरङ, सुनसरीमा कमजोर रहेको महसुस गरेको संस्थापन पक्षले यसपटक मत बढाएको दाबी गरिएको छ। बागमती प्रदेशको सभापतिमा उठेका भीमसेनदास प्रधानले तेस्रो स्थानको मत ल्याएपछि संस्थापनलाई सघाएका थिए। बागमतीमा पनि सिटौला पक्षको मत थपिनेमा संस्थापन पक्ष विश्वस्त छ।
लुम्बिनी र गण्डकीमा प्रदेश सभापतिमा पराजित भए पनि प्रतिनिधि पौडेल पक्षको भन्दा बढी रहेको दाबी गरिएको छ। गण्डकीमा पौडेल पक्षबाट विजयी भएका शुक्रराज शर्मा विगतमा देउवा निकट रहेकाले संस्थापनतिरै उनी ढल्कने आकलन समेत देउवा पक्षको छ।
जिल्ला र प्रदेश सभापतिमा बहुमत संख्या आफ्नो खेमाबाट विजयी हुँदा संस्थापन पक्ष उत्साहित छ। ३१ जिल्ला सभापति देउवा पक्षमा खुलेका छन्। बहुमत देउवाको पुग्ने देखिए अन्य पनि थपिने बुझाइ संस्थापनको छ। ६ प्रदेश अधिवेशनमा देउवा पक्षका ३ जना सभापति विजयी भएका छन्। प्रदेश १ बाट विजयी भएका उद्धव थापा पनि आफ्नै पक्षधर भएको देउवा पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।