काठमाडौं- यो साता कारोबारको चार दिन निरन्तर उकालो लागेको सेयर बजार अन्तिम कारोबार दिन भने केही घटेको छ। बिहीबार लगानीकर्ताले 'प्रोफिट बुक' गर्दा सूचक केही दबाबमा परेर सेयर बजारमा करेक्सन आएको हो।
अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम बढेको छ। सेयर बजारमा यसअघि लगभग २२ प्रतिशतको करेक्सन आइसकेको छ। यो करेक्सनपछि अब सेयर बजार उकालो यात्रामा रहने जानकारहरु बताउँछन्।
साताको अन्तिम दिन बिहीबार कारोबार बन्द हुँदा पुँजी बजार मापक परिसूचक 'नेप्से' ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा ओर्लिएको छ। बुधबार नेप्से बढेर २८०० विन्दु माथि पुगेको थियो।
करिब २८ अर्बको कारोबार
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करिब २८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चार अर्ब नौ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस्तै, सोमबार कारोबार केही बढेर चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार बढेको थियो। मंगलबार र बुधबार पनि कारोबार बढेको थियो। मंगलबार पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार र बुधबार सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार भने कारोबार घटेर छ अर्ब २७ करोड १८ लाख रुपैयाँमा सीमित भएको नेप्सेले जानकारी दिएको छ।
अधिकांश उपसमूह सकारात्मक
यो साता एउटाबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ।
वणिज्य बैंक उपसमूहको सेयर मूल्य ०.५८ प्रतिशतले बढेको छ। यस्तै, विकास बैंक उपसमूहको सेयर मूल्य ४.४३ प्रतिशत, लघुवित्त उपसमूहको तीन प्रतिशत, जीवन बिमा उपसमूहको ०.०२ प्रतिशत, फाइनान्स उपसमूह ७.०७ प्रतिशत, निर्जीवन बीमा उपसमूह १.७२ प्रतिशत, होटल तथा पर्यटन ५.२८ प्रतिशत र जलविद्युत उपसमूहको सूचक ६.४१ प्रतिशत बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूह १.७८ प्रतिशत, व्यापार उपसमूह १.९१ प्रतिशत, अन्य १६.२८ प्रतिशत र म्युचुअल फण्ड उपसमूह ०.०६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
यो साता लगानी (इन्भेस्टमेण्ट) उपसमूहको मात्र सेयर मूल्य घटेको छ। यस उपसमूहको सेयर मूल्य यो साता २.१६ प्रतिशतले घटेको हो।
समग्रमा यो साता नेप्से २.९३ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै कमाउने कम्पनी
यो साता सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ६१.०१ प्रतिशतले कमाएका छन्।
तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६०.९८ प्रतिशतले कमाएका छन्। यस्तै, नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले २७.९४ प्रतिशत, बोटलर्स तराई नेपालका लगानीकर्ताले २२.३३ प्रतिशत मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले २१.७८ प्रतिशतले कमाएका छन्।
सबैभन्दा धेरै गुमाउने कम्पनी
यो साता सबैभन्दा धेरै गुमाउनेमा हाइड्रो इक्ट्रेसिटी कम्पनीका लगानीकर्ता परेका छन्। यस कम्पनीका लगानीकर्ताले यो साता ८.८६ प्रतिशतले गुमाएका छन्।
यस्तै, यो साता सबैभन्दा धेरै गुमाउने दोस्रो कम्पनी आरएसडीसी लघुवित्त वित्तीय संस्था रहेको छ। यस संस्थाका लगानीकर्ताले यो साता ६.४० प्रतिशतले गुमाएका छन्।
यसैगरी, साहस ऊर्जा कम्पनीका लगानीकर्ताले ६.०२ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताले ३.३८ प्रतिशत र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९२ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।