ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा सोमबार बिहान भएको बोलेरो जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बिहान साढे ७ बजे ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ वर्षीया शान्तामाया मगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएकामध्ये ४ जनालाई मुस्ताङ एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरुलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।