काठमाडौं- चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत् उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको छ। प्रसारणलाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो।
प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारणलाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो।
होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिनेछ।
उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत् सीधै विद्युत् दिइएको छ। यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ। ११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत् आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुलसस्तो छ। विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत् विद्युत् आपूर्ति गरिरहेको थियो। यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारणलाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको बताए।
होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारणलाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत् आपूर्ति दिइएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा बर्दघाट-भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति दिइएको हो।
२२० केभी प्रसारणलाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट-सर्दी १३२ केभी प्रसारणलाइनको दुम्कीबास-सर्दीखण्डमार्फत् उद्योगमा विद्युत् आपूर्ति दिइएको छ। बर्दघाट-भरतपुर २२० केभी र बर्दघाट-सर्दी १३२ केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो।
‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत् दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिनेछ,’ घिसिङले भने, 'ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणाअनुसार बर्दघाट-सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारणलाइन बनिरहेको हो। वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारणलाइनको निर्माण पूर्णरुपमा सम्पन्न हुन सकेको छैन। नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४ मा आयोजनाको सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।