काठमाडौं– नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ। केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँले उकालो लागेको छ।
शुक्रबार ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुन ९४ हजार १ सय रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको महासंघको भनाइ छ।
आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा १० रुपैयाँले बढेको छ। शुक्रबार १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक नेपालमा कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ६४ डलर आसपासमा कारोबार भइरहेको छ।
यसैबीच, महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ। हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासंघको भनाइ छ।
हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने काठमाडौं केन्द्रित तथा सुनको वितरणलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्ने महासंघको भनाइ छ। हाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।