भक्तपुर- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानका लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह गरे।
'विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड-१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो। तर, अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ। यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालीन समस्या पुर्याउनेछ,' उनले भने।
बजारमा देखिएको तरलताको समस्या समाधानका लागि महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको उनले बताए।
यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए। मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै उनले राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।