काठमाडौं– केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ। सोहीअनुसार नेपाल राष्ट्र बैंकले गृहकार्य अघि बढाएको छ।
पहिलो त्रैमासिक समीक्षाले कतिपय नयाँ नीतिगत व्यवस्था गर्ने र कतिपय पूराना व्यवस्था हटाउने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। खासगरी कर्जा लगानीसम्बन्धी नीतिमा केही फेरबदल गर्ने तयारी छ।
समीक्षाका क्रममा मौद्रिक नीतिमा समेटिएका कतिपय नीति फेरबदल गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल देखिएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।
यस वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गरेको थियो। त्यसबाट पूँजी बजारमा नकारात्मक असर देखिएको भन्दै सरोकारवालाले पूँजी बजारको नियम गर्न खोजिएको बताएका थिए। तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै गलत नियतसाथ यस्तो नीति नल्याइएको बताउँदै आएका छन्। पहिलो त्रैमासिक समीक्षाका क्रममा यसमा केही पुनर्विचार गरिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव देखिएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए। तर, राष्ट्र बैंकले त्यसमा हस्तक्षेप गरेको थियो।
मौद्रिक नीतिमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत तोकिएको थियो। तरलता संकट गहिरिन सक्ने भएकाले यसमा पनि केही पुनर्विचनर गर्ने तयारीमा राष्ट्र बैंक जुटेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।