काठमाडौं– कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई आगामी १५ दिनभित्र नगद अनुदानका लागि निवेदन दिन आह्वान गरिएको छ।
कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराएको कार्यविधिमा उल्लेख छ।
कोभिडको कारण भएको लकडाउनबाट पेसा, व्यवसाय वा श्रम गर्ने अवसर गुमाई आर्थिक रूपमा अतिविपन्न देहाय बमोजिमका नेपाली नागरिकको परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद पाउनेछन्।
नगद हस्तान्तरण गर्न ८ दिनअघि राजपत्रमा कार्यविधि सार्वजनिक गरेको सरकारले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै निवेदन दिन आग्रह गरेको हो। १० हजार नगद अनुदान लिनका लागि आफू बसेको वडा कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ।
स्थानीय तहबाट वितरण हुने यो रकम सरकारी सामाजिक सुरक्षामा आबद्ध भएका कुनै पनि परिवारले नपाउने सूचनामा जनाइएको छ।
नगद अनुदान लिनका लागि विगतमा काम गर्दै आएको रोजगारी गुमाएको र अर्को जागिर नपाएको हुनुपर्ने सूचनामा उल्लेख छ।
खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आमा सामान बेच्ने अति विपन्नले यो उनुदान पाउने अर्थमन्त्रालयले जनाएको छ।
दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ठेलागाढा मजदुरलगायतले समेत यसका लागि आवेदन दिन सक्नेछन्। कोभिडका कारण आय आर्जन गर्ने मुख्य ब्यक्तिको निधन भएको परिवारले पनि सरकारी अनुदान रकम पाउने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।