काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन: पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको छ। निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ। निगमले मूल्य बढाएपछि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ पुगेको छ।
निगमले हवाई इन्धन (आन्तरिक र बाह्य उडान)को मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। निगमले मूल्य बढाए पछि हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ।
निगमले गत शुक्रबार (कात्तिक १२ गते) मात्रै इन्धनको मूल्य बढाएको थियो।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट कात्तिक १५ गते प्राप्त नयाँ मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाइएकाले पुन: मूल्य बढाउनु परेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीको भनाइ छ।
आईओसीले औषतमा पेट्रोलमा प्रतिलिटर ७.४२, डिजेलमा प्रतिलिटर ३.९२, मट्टितेलमा प्रतिलिटर ११.४९, हवाई इन्धनमा प्रतिलिटर ४.११ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २४६.९७ रुपैयाँ थप बढाएर पठाएको सह–प्रवक्ता कार्कीले बताए।
कार्कीले मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा १७.५८, डिजेलमा प्रतिलिटर १३.१४ तथा एलपी (खाना पकाउने) ग्यासमा प्रतिसिलिण्डर ६५८.८४ रुपैयाँ घाटा नै रहेको बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।