काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन्। नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब पर्नु र सरकारी खर्च बेलैमा नहुँदालगायतद कारणले तरलतामा चाप परेको बताए।
अर्थतन्त्रको पुनरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै उनले संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न बैंकहरुलाई आग्रह गरे।
नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको उनको भनाइ थियो। कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ थियो।
कार्यक्रममा अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे। वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउनुपर्ने उनको भनाइ थियो।
संघका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।