खाँदबारी- अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन्।
प्रेस सेन्टर सङ्खुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन्। उनले अरुण करिडोरको निर्माणले सङ्खुवासभामा विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे।
सङ्खुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए। त्यस्तै अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गरे। अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
'अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ,' मन्त्री शर्माले भने। व्यापार घाटा कम गर्नसक्ने स्रोत साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरे। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।