काठमाडौं– नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ। तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुइँचो लागेको हो।
असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ। कोटाभन्दा बढी मानिसहरुको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन्। उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन्।
हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ रूपैयाँ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।