काठमाडौं- आतंकवादी क्रियाकलाप र त्यसबाट सिर्जित असुरक्षा र असहजताका कारण लामो समयदेखि पाकिस्तानी भूमिको साटो युनाइटेड अरब इमिरेट्स (यूएई)लाई होमग्राउण्डका रुपमा मानेर घरेलु खेलहरु खेल्न बाध्य बनेको पाकिस्तानी क्रिकेट टोलीले पछिल्लो समय आफूमा उल्लेखनीय सुधार गरेको छ।
सन् २००९ मा लाहोरको गद्दाफी स्टेडियमनजिकै बन्दुकधारीहरुले श्रीलंकाको राष्ट्रिय टोलीमाथि हमला गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमणमा रोक लगाएका थिए। त्यसबेलादेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका स्थायी सदस्यहरूबीच पाकिस्तानमा टोली पठाउने आशंका उत्पन्न भएको थियो।
तर, आईसीसीका अन्य सदस्य राष्ट्रहरुको व्यवहारबाट पाकिस्तान एकरत्ति विचलित भएन। सुरक्षाको प्रत्याभूति दिन नसके पनि पाकिस्तानले त्यस समय अवसर खोज्दै गयो र यूएईलाई आफ्नो घरेलु मैदान बनायो।
यो पाकिस्तानको लागि सुवर्ण अवसर थियो। विकासोन्मुख देशबाट विकसित देशतर्फ अगाडि बढ्दै गएको यूएईले त्यसबेला खेलकुदलाई उच्च प्राथमिकतामा राखेको थियो।
धनीका देश भनेर कहलिएको यूएईमा आईसीसीको कार्यालय हुँदा पनि पाकिस्तानलाई आर्थिक सहायतामा केही राहत मिल्यो। त्यसबाहेक पाकिस्तानले अरब देशको भ्रमण गर्ने शीर्ष टोलीहरूसँगै राम्रो प्रविधि र उपकरणको साथ पनि पाउँदै गयो। जसको परिणाम पछिल्लो समय देखिएको छ।
वर्षौंदेखि यूएईमा खेल्दै गर्दा पाकिस्तान राष्ट्रिय क्रिकेट टोली परिस्थितिसँग परिचित भएको छ र खेलाडीहरुले गरेको मिहिनेतले सफलता पाइरहेको छ, जुन हाल यूएईमा जारी आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगितामा देखिएको छ।
पाकिस्तानका खेलाडीले क्रमशः भारत, न्यूजिल्याण्ड र अफगानिस्तानविरुद्ध हात पारेको जित, हासिल गरेको अनुभव र अलराउन्ड प्रदर्शनले 'ब्याक-टू-ब्याक' क्रिकेट जगतलाई चकित पारेको छ।
भाग्यको यो परिवर्तन कसरी भयो भन्ने बुझ्नका लागि उनीहरूको क्रिकेट कौशलको विश्लेषण गर्नु महत्त्वपूर्ण छ।
पाकिस्तानले टी-२० विश्वकप क्रिकेटका तीनै खेलमा केही बल बाँकी राखेर लक्ष्य पछ्याएको छ। उसका कप्तान बाबर आजमले तीनै पटक सुरुआती नेतृत्व गरेका छन्। विश्वका उत्कृष्ट ब्याट्सम्यानको रुपमा चिनिने २९ वर्षीय खेलाडीले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानसँग मिलेको जोडी, दुबईमा भारतविरुद्धको छोटो र लुज बल डेलिभरीको फाइदा उठाए, र पाकिस्तानलाई १० विकेटको ऐतिहासिक जित दिलाए।
राजनीतिक रूपमा 'कटुतापूर्ण' सम्बन्ध रहेका यी दुई देशबीच यसअघि विश्वकपमा भएका सबै १२ खेलमा भारत हावी थियो। यसअघि टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच कूल पाँच खेल भएका थिए।
भारतले पाँचवटै खेलमा जित निकालेको थियो। सन् २००७ को समूह चरणमा खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने)मार्फत् भारत विजयी भएको थियो। उक्त फाइनलमा भारतले पाकिस्तानलाई पाँच रनले हराउँदै उपाधि जितेको थियो।
भारत २०१२ को टी-२० विश्वकपमा आठ विकेट, २०१४ को विश्वकपमा सात र २०१६ को विश्वकपमा छ विकेटले विजयी भएको थियो।
२०२१ को विश्वकपमा पहिलोपटक पाकिस्तानसँग पराजित भएपछि भारतमा अहिलेसम्म पनि त्यसको तरङ्ग बाँकी छ। पाकिस्तानसँग हारेपछि भारतमा मुस्लिमविरुद्ध आक्रोश देखिएको छ र देशद्रोहको मुद्दादेखि जागिरबाट निकाल्नेसम्मका घटना घटिरहेका छन्।
तर, दोस्रो खेलमा भने पाकिस्तानले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेन। न्युजिल्यान्डविरुद्ध भएको दोस्रो खेलमा पाकिस्तानको ब्याटिङ अर्डर कति कमजोर रहेछ भन्ने छताछुल्ल भयो।
उक्त खेलमा भारतविरुद्धको खेलमा चम्किएका बाबर र रिजवान खासै चल्न सकेनन्। यद्यपि, एकतर्फी जस्तो भइसकेको खेलमा पाकिस्तानले उत्कृष्ट कमब्याक गर्न भने सफल भयो।
मंगलबार राति शारजाहमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १३ ओभरमा तीन विकेट गुमाएर ९० रन बनाएको थियो। रन पछ्याउने क्रममा पाकिस्तानले त्यही स्थितिमा चार विकेटको क्षतिमा ७५ रन बनाएको थियो। तर, पाकिस्तानले आठ बल बाँकी रहँदा पाँच विकेटको जित हासिल गर्यो।
अनुभवी ब्याट्सम्यान शोएब मलिकको अनुभव र आसिफ अलीको उत्कृष्ट विस्फोटक क्यामियोले पाकिस्तानको जहाजलाई स्थिर बनाएको मात्र होइन, टोलीसँग चुनौती आए पनि ब्याटिङको गहिराइ छ भन्ने स्पष्ट सन्देश दियो।
न्युजिल्याण्डका कप्तान केन विलियम्सनले उक्त खेलपछि भनेका थिए, ‘शोएब मलिकले पछिल्ला केही खेलमा हासिल गरेका अनुभव देखाए। आसिफ अलीले पनि, बललाई सुन्दर ढंगले प्रहार गरे। दुर्भाग्यवस, हाम्रो यो बाटोमा जान सकेन। यदि हामीले विपक्षीलाई हेर्यौं भने उनीहरुले हामीभन्दा उत्कृष्ट खेल खेलेका थिए।’
लगातार दुई खेल जितेको पाकिस्तान सुपर १२ को समूह २ बाट सेमिफाइनल खेल्ने लगभग पक्कापक्की भइसकेको थियो। पाकिस्तानी खेलाडीहरु दुई शीर्ष टोलीलाई हराएपछि जोसिएका थिए, सायद अघिल्लो चरणमा पुगिने लगभग निश्चित भएको कारण पनि हुनसक्छ।
बाबरको उत्कृष्ट कप्तानी भने यही देखियो। उनले भारतविरुद्धको खेल जितेकै दिन भनेका थिए, 'हामीले अहिले नै प्रतियोगिता जितिसकेका छैनौं। अगाडि कयौं बाधाहरु छन्। आज जे भयो राम्रो भयो तर, हामी धेरै उत्साही नहोऔं। के गर्न आएका हौं त्यही गरौं।'
हुन पनि पाकिस्तानले समूहका अझै पाँच खेल्न बाँकी नै थियो। उसका खेलाडीहरुले भारतविरुद्धको जितपछि 'ओभर कन्फिडेण्ड' देखाएको भए सायद पाकिस्तानलाई न्युजिल्याण्डविरुद्धको खेलमा असर गर्थ्यो र केही मात्रामा गर्यो पनि। तर, पाकिस्तानले दोस्रो खेलबाट भने पाठ सिकेको स्पष्ट देखिन्छ। भनिन्छ- सुखमा नमात्तिनु, दु्:खमा नआत्तिनु।
उनीहरुले यही भनाइलाई आत्मसाथ गर्दै शुक्रबार पुनः एक उत्कृष्ट खेल प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारे। त्यो खेल प्रतियोगितामै उत्कृष्ट लयमा देखिएको अफगानिस्तानविरुद्ध थियो।
अफगानिस्तान त्यही टोली हो, जसले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध १३० रनको रवाफिलो जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो।
अफगानिस्तानको मुख्य हतियार थिए- स्पिनर राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी। यी तीन विश्वस्तरीय स्पिनरले स्कटल्याण्डविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा मुजिबले पाँच र राशिदले चार विकेट लिएका थिए।
यता, शीर्ष क्रमका ब्याटिङमा हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद, रमानउल्लाह गुर्बाज र नाजिबुल्लाह जद्रान हुँदा पाकिस्तानलाई हराउन सहज हुने आकलन गरिएको थियो। हुन पनि वार्मअप र पहिलो खेलमा यी चारै जना ब्याटरले राम्रो प्रदर्शन गरेका थिए। तर, पाकिस्तानका बलरहरुले उनीहरुलाई चल्न दिएनन्।
पाकिस्तानका स्पिनर ईमाद वासिम, शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफ अफगानिस्तानविरुद्धको खेलमा नायक ठहरिए। बाबरले यही खेलबाट भारतीय कप्तान विराट कोहलीको कीर्तिमान तोडे।
अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गरेका उनले कप्तानको रुपमा सर्वाधिक छिटो एक हजार रन बनाउने कोहलीको कीर्तिमान तोडे र पाकिस्तानलाई पाँच विकेटको उत्कृष्ट जित दिलाइदिए।
बलरमा देखिएको परिवर्तन
वर्षौंको दौडानका बाबजुद् पाकिस्तानले कम्तीमा एक पुस्ताको बलर उत्पादन गरेको छ। यसपटक दरिलो पुस्ता भनेको शाहीन शाह अफ्रिदी हो भन्दा फरक नपर्ला। उनी पाकिस्तानको बलिङ विभागका प्रभावशाली व्यक्तित्व हुन्। उनलाई अहिले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पाकिस्तानका एक दुर्लभ हतियार मानिन्छ, जसलाई कप्तान बाबरले शानदार रूपमा प्रयोग गर्दै आएका छन्।
२१ वर्षीय बायाँ हाते तीव्र गतिका यी बलरले भारतीय ओपनर रोहित शर्मा र केएल राहुलविरुद्ध आफ्नो जादुयी स्पेलको साथ सेन्टर स्टेज लिए। अफ्रिदीले आफ्नो योजना कार्यान्वयन गरे र बलियो भारतीय ब्याटिङलाई धराशायी बनाउन सही लाइन र लम्बाइमा बलिङ गरे।
यता, हसन अली र हरिस राउफ पनि प्रतियोगितामा कम देखिएका छैनन्। उनीहरुको खासियत भनेको स्लो बलमा विपक्षीहरूलाई अलमलमा पार्नु नै हो। जुन भूमिकालाई उनीहरुले निर्वाह गर्दै आएका छन्।
हरिसले न्युजिल्याण्डविरुद्ध आफ्नो उच्च खेल प्रदर्शन गरे। उनले प्रशिक्षण र त्यस दौरान खेलेको अभ्यास खेलहरुले आफूमाथि रहेको ‘कन्फिडेण्टनेस’ मैदानमा देखाए। उनले पछिल्लो तीन खेलमा विपक्षीको मध्यक्रमलाई कमजोर पारेका छन्।
स्पिनर शादाब खान र मोहम्मद हफिजले पनि उनलाई साथ दिइरहेका छन्।
सुधारिएको फिल्डिङ
क्रिकेटको सबैभन्दा चर्चित भनाइ हो- ‘वान क्याच क्यान मेक यु विन द म्याच’ अर्थात् एक क्याचले क्रिकेटमा म्याच जिताउँछ।
यस प्रतियोगितामा पाकिस्तानले अन्ततः यो उखान आफ्नो शब्दकोशमा थपेको जस्तो देखिन्छ।
वर्षौंदेखि क्रिकेटप्रेमीहरुले पाकिस्तानको खराब फिल्डिङ र साधारण क्याचसमेत ड्रप गरेका कारण खिल्ली उडाउँदै आएका थिए। तर, जारी विश्वकपमा यदि कुनै टोली मैदानमा असाधारण रह्यो भने त्यो वास्तवमा पाकिस्तान हो। बाबर, विकेटकिपर रिजवानलगायतले आफूले सुधार गर्नुपर्ने कुरामा पर्याप्त ध्यान दिएको मैदानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।