काठमाडौं– सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलो दिनमै ६२५ वटा खसीबोका विक्री गरेको छ। कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री सुरू गरेको छ।
दशैंका लागि सहुलियतमा खसीबोका विक्री गरेको पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको हो।
कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ हजार रुपैयाँ बराबरका ६ सय २५ वटा खसीबोका विक्री गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन्।
यो कम्पनीले वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ।
कम्पनीले उक्त मूल्यमा १० रुपैयाँ छूट दिएर प्रतिकिलो ६ सय ४० रुपैयाँमा विक्री गरिरहेको छ।कम्पनीले पहिलो चरणमा १ हजार ५९ वटा खसीबोका भित्र्याएको हो।
कोरोना महामारी संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले खसीबोका किन्न आउने उपभोक्तालाई टोकन प्रणालीमार्फत व्यवस्थापन गरेको छ। शनिवार कम्पनीले विक्री गरेका खसीबोका किन्न थापाथलीस्थित विक्री कक्षमा उपभोक्ताको बाक्लो भीड लागेको थियो।
कम्पनीले असोज १ गतेदेखि थालेको सुपथ मूल्य पसलबाट काठमाडौं उपत्यकाभित्रका विक्री केन्द्रहरूमार्फत हालसम्म करीब ६ सय क्वीन्टल खाद्यान्न विक्री गरेको छ । सुपथ मूल्य पसलअन्तर्गत कम्पनीले दाल, चामल, जुम्लाको सिमी, चिनी, घिउलगायत खाद्यान्न विक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।