काठमाडौं– दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ।
कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए।
कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ। तर, ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरि पनि खसी, बोका थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्। उनले दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।
ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरुले खसी, बोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन्।
कम्पनीले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ। कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएका जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताए। उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद बिक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गरे। कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको पनि जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।