काठमाडौं- ९१ हजार ३ सय भन्दा धेरै आप्रवासीले यस वर्ष पनामाको खतरनाक डेरियन ग्याप जंगलबाट उत्तरी अमेरिका पुग्ने आशामा यात्रा गरेका छन्। शुक्रबार इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन (आईओएम) ले जनाए अनुसार यसमा धेरैजसो हाइटीका नागरिक रहेका छन्।
यस वर्पको जनवरीदेखि सेप्टेम्बरको बीचमा ल्याटिन अमेरिकाको सबैभन्दा खतरनाक बाटो मध्येको एक डेरियन ग्यापबाट ५६ हजार भन्दा धेरै हाइटीका प्रवासी हिँडेका छन् जसमध्ये कयौं बालबालिका रहेको पनामाका आप्रवासन अधिकारीहरुलाई उदृत गर्दै आईओएमले जनाएको छ।
आईओएमका अनुसार वर्षको ९ महिनामा यसअघि २०१६ को रेकर्डको तीन गुणा प्रवासीले यात्रा गरेका छन्। २०१६ मा ३० हजार बढी आप्रवासीले सोही बाटो हुँदै यात्रा गरेका थिए।
पनामाका आईओएम मिशनका प्रमुख सेन्टियागो पाजले भने, 'कोभिड-१९ महामारीका कारण सीमा बन्द हुन र आर्थिक संकुचनका कारण अनियमित आप्रवासनमा बृद्धि भएको छ।'
यो तथ्यांक त्यतिबेला आएको छ जतिबेला अमेरिकी देशले शरण माग्नेहरुका लागि सीमाहरु पूर्णरुपमा बन्द गरेका छन्। मेक्सिको तथा मध्य अमेरिकी देशले अमेरिकी बाटो भएर जाने प्रयास गरिरहेकाहरुलाई रोकेका छन्।
डेरेन ग्याप पनामा र कोलम्बियाको बीचको सीमा रहेको ५ लाख ५७ हजार हेक्टर खण्ड रहेको छ जुन शसस्त्र गिरोहले नियन्त्रणमा लिएको छ।
तस्करहरुले साना समूहलाई बाटोबारे जानकारी दिने गरेका छन् तर बाटोमा कयौं मानिसहरु लुटिने गरेका छन्। त्यस्तै कयौं महिला र किशोरीहरु बलात्कृत हुने गरेका छन् भने यस वर्ष एक्लै हिँडेकाहरु कयौं मारिएको अलजजिराले उल्लेख गरेको छ।
पनामाले जंगल पार गर्नेक्रममा ५० भन्दा धेरै मारिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।