काठमाडौं- ऋणमा डुबेको भारतीय सरकारी वायुसेवा कम्पनी एयर इन्डिया चर्चित कम्पनी टाटाको स्वामित्वमा जाने निश्चित भएको छ।
टाटा सन्सले खरिद बोलपत्रमा स्पाइस जेटलाई पछि पार्दै १ खर्ब ८० अर्ब भारुमा खरिद गर्न लागेको हो। शतप्रतिशत सेयर स्वामित्व रहने गरी टाटाले वायुसेवा प्रदायक खरिद गर्न लागेको वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै द हिन्दूले समाचार प्रकाशित गरेको छ।
‘साल्ट टु सफ्टवेयर’ समूह टाटाले बोलपत्रमा सफल भएको समचारमा उल्लेख छ। स्पाइस जेटले १ खर्ब ५३ अर्बको बोलपत्र हालेको थियो।
यो खरिद प्रक्रिया डिसेम्बरसम्म पूरा हुने बताइएको छ। योसँगै एयर इन्डिया फेरि टाटाकै स्वामित्वमा फर्किएको छ।
सन् १९३२ मा एयर इन्डियालाई जेहनगिर रतनजी दादाभोय टाटाले स्थापना गरेका थिए। त्यसयता यसलाई टाटा एयरलाइन्स भनिन्थ्यो।
१९४६ मा एयर डिभिजन टाटा सन्सलाई एयर इन्डिया भन्न थालियो। यसको अन्तर्राष्ट्रिय सेवा पहिलो सार्वजनिक निजी साझेदारीको सेवा थियो। यसमा सरकारको ४९ प्रतिशत सेयर थियो भने टाटाले २५ प्रतिशत र बाँकी सार्वजनिक सेयर थियो।
त्यसपछि १९५३ मा एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।