काठमाडौं- लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेको छ।
प्रतिपक्ष दल नेकपा (एमाले)को बहिष्कारकाबीच प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेश सभामा बजेट पेस गरेका हुन्। प्रतिस्थापन विधेयकमार्फत् सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ।
माओवादी केन्द्र रोजेकी दाङकी विमला खत्री वली र सरकारमा सहभागी भएका स्वतन्त्र प्रदेश सभा सदस्य अजय शाहीलाई कारबाही माग गर्दै एमालेले भदौ १ गतेदेखि लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ। सरकारले जबरजस्ती बजेट ल्याएको भन्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको थियो।
सरकारले पेस गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ।
त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि चार अर्ब ८४ करोड २३ लाख रकम विनियोजन गरिएको छ। अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई भने हटाइएको छ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले ल्याएको उक्त योजना वर्तमान सरकारले हटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।