काठमाडौं– अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ।
तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले तेल उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तरराष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो।
सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजाने सहमति ओपेक प्लसले गत जुलाईमा गरेका थिए।
मंगलबार बेलुका लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो।
सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धि भई प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो।
सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेको थियो।
यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।