काठमाडौं- बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ।
बेलायती स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि कोरोनाबाट हुने संक्रमण दैनिक कमी नआएको बताएका छन्।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्रमित भएका छन्। बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन्।
बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ।
यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ। यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।