काठमाडौं- ताइवानकी राष्ट्रपतिले देशमा चीनको कब्जा भएमा यसले एशियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम हुने उल्लेख गरेकी छन्।
फरन अफेयर्स पत्रिकामा राष्ट्रपति त्साई इंग वेनले एक लेख लेख्दै ताइवानले सैन्य टकराव नचाहेको तर आफ्नो रक्षाका लागि जे गर्नुपर्ने हो त्यसका लागि तयार रहेको उल्लेख गरेकी छन्।
उनको यो लेख यस्तो बेलामा आएको छ जतिबेला ताइवानमा चीनले दबाव बढाइरहेको छ। चीनले यस द्वीपलाई आफ्नो हिस्सा मान्छ। पछिल्लो चार दिनमा करिब डेढ सय चिनियाँ फाइटर जेटले ताइवानको वायु क्षेत्रमा उडान भरिसकेको छ।
यसले यो क्षेत्रका अन्य देश पनि चिन्तित रहेको बीबीसीले जनाएको छ। टोकियोमा एक पत्रकार सम्मेलनमा जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले विवाद कुटनीतिका माध्यमबाट मिल्ने जापानले आशा गरेको जनाए।
आफूहरुले चीन र ताइवानबीचको तनावलाई कडा नजर राखिरहेको र कुराकानीको माध्यबाट शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न सकिने उनले बताए।
तर चीनले भने यस क्षेत्रमा अमेरिका र उसका सहयोगीको युद्धपोतको उपस्थिति बढ्दो तनावका लागि जिम्मेवार भएको आरोप लगाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।